६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

नेपालमा विश्वकप फुटबलको प्रशारण अन्योलमा !

 आइतवार, कार्तिक २७ २०७९  

काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न पाउने नपाउने भन्ने अनिश्च भएको छ । विश्वकप फुटबलको सम्पूर्ण विद्युतीय प्रसारणको अधिकार मिडिया हबले लिएको छ ।

मिडिया हबले ग्राहकबाट थप शुल्क लिएर प्रसारण गर्ने योजना बनाएपछि विवादमा परेको हो । यसअघिका विश्वकप फुटबल टेलिभिजनमा हेर्दा थप शुल्क तिर्नुपरेको थिएन । मिडिया हबले भारतबाट प्रसारण अधिकार लिएको हो । भारतमा पनि विश्वकप फुटबल हेर्न थप शुल्क तिर्नुपर्दैन । सार्कराष्ट्रहरु बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटानलगायतका देशमा पनि थप शुल्क लाग्दैन । तर नेपालमा भने फिफाको नीतिविपरीत फुटबल प्रसारणका लागि अग्रिम शुल्क लिन लागिएको रिट निवेदक अधिवक्ता किशोर पौडेलको भनाई छ ।

नेपाल सरकारबाट अनुमति समेत प्राप्त नगरी मिडिया हबले विश्वकप फुटबलको प्रसारणमा अधिक शुल्क उठाएको रिटमा उल्लेख छ । यो स्वतन्त्रताको हक, समानताको हक, उपभोक्ताको हकविपरीत भएको दाबी निवेदकको छ । निवेदकको मागबमोजिम अदालतले आदेश दिएको थियो ।

विश्वकप फुटबल नेपालमा टेलिभिजन प्रसारण गर्दा थप शुल्क लिन पाउनुपर्ने माग गर्दै मिडिया हबले दिएको भ्याकेट निवेदनको आइतबार पनि पेशी तोकिएको छ ।

अन्तरिम आदेश खारेजीको माग गर्दै परेको निवेदन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी तोकिएको हो । तर आइतबार पनि सुनुवाइको सम्भावना कम छ ।

यसअघि शुक्रबार प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासमा पेशी तोकिएको थियो । राउतले यसअघि अन्तरिम आदेश दिएका थिए । त्यो दिन हेर्न नभ्याइएको मुद्दा आइतबार पनि हेर्न नभ्याउने सम्भावना बढी छ ।

अन्तरिम आदेश दिँदै सर्वोच्चले मिडिया हबलाई थप शुल्क लिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेश जारी गर्ने नगर्ने भन्ने छलफलका लागि दुवै पक्षलाई ३० गते बोलाइएको छ । ३० गते मुद्दाको सुनुवाइ हुँदा विश्वकप प्रसारणमा असर गर्ने भन्दै त्यसअघि नै निर्णय गर्न माग गर्दै मिडिया हब सर्वोच्च पुगेको हो

मिडिया हबले टेलिभिजन ग्राहकसँग विश्वकप फुटबलको प्रसारण हेर्न थप ५ सय रुपैयाँ शुल्क अनिवार्य गर्ने प्रक्रिया अगाडि बढाएपछि अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

प्रतिक्रिया सबै