६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

 मङ्लबार, कार्तिक २९ २०७९  

काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघका अनुसार बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको हो ।

सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । सन् २०५० मा यो बढेर अनुमानित ७७.२ वर्ष पुग्ने बताइएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टारेसले उनले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासले मानिसको आयुलाई बढाएको र मातृ तथा बाल मृत्युदरलाई घटाएको बताएका छन् । राष्ट्रसंघले ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको जनाएको छ ।

बीसौं शताब्दीको उत्तरार्द्धमा विश्वको जनसंख्यामा ठूलो वृद्धि देखिएको थियो । राष्ट्र संघले विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अब १५ वर्ष लाग्ने जनाएको छ । यसैगरी १० अर्ब जनसंख्या सन् २०८० मात्रै पुग्ने जनाएको छ ।

राष्ट्र संघका अनुसार विश्वको औसत जनसंख्या वृद्धिदरको गति पछिल्ला दशकहरूमा सुस्त भएको छ । सन् १९५० पछि जनसंख्याको वृद्धिदरमा सुस्तता आएको र सन् २०२० मा एक प्रतिशतमा झरेको हो ।

राष्ट्र संघका अनुसार सन् २०३० मा विश्वको जनसंख्या आठ अर्ब ५० करोड हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ । सन् २०५० मा विश्वको जनसंख्या नौ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ । सन् २०८० मा १० अर्ब ४० करोड पुग्ने र सन् २१०० सम्म कायम रहने अनुमान छ ।

विश्वका विभिन्न देशमा पछिल्ला दशकहरूमा प्रजननदर उल्लेख्य घटिरहेको राष्ट्रसंघले जनाएको छ । सन् २०२२ देखि २०५० सम्म संसारका ६१ देशमा प्रजननदर एक प्रतिशत वा सोभन्दा पनि घट्ने अनुमान छ ।

सन् २०५० सम्म बढ्ने अनुमान गरिएको जनसंख्याको आधा जति आठ वटा देशमा हुने आकलन छ । जसमा कंगो गणराज्य, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जनिया हुनेछन् । सन् २०२२ मा ६५ वर्ष वा सोभन्दा माथि उमेर समूहको जनसंख्या कुल १० प्रतिशत रहेकोमा सन् २०५० मा १६ प्रतिशत पुग्ने अनुमान छ । यसले भविष्यमा काम गर्न सक्ने उमेर समूहको जनसंख्या घट्ने र वृद्धवृद्धाको संख्या बढ्ने देखाउँछ ।

सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२.८ वर्ष पुगेको छ । सन् १९९० मा यो ६४ वर्ष हाराहारीमा मात्रै थियो । सन् २०५० मा औसत आयु ७७.२ वर्ष पुग्ने अनुमान छ ।

यस्तै, राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार पुगेको छ । यो १० वर्ष अगाडिका तुलनामा करीब २७ लाख बढी हो। नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ ।

नेपालमा सर्वाधिक ५३.६६ प्रतिशत मानिस तराई क्षेत्रमा र ६.०९ प्रतिशत मानिस हिमाली क्षेत्रमा बस्छन् । बाँकी पहाडी भूभागमा बसोबास गर्ने जनगणनाले देखाएको छ ।

नेपालमा पहिलो पटक १९६८ सालमा जनगणना गर्दा कुल जनसंख्या ५६ लाख ३८ हजार देखिएको थियो । त्यतिवेला प्रति वर्ग किलोमिटर ३८ रहेको जनघनत्व अहिले बढेर १९८ पुगिसकेको छ ।

प्रतिक्रिया सबै