आज मध्यरातिदेखि ‘स्थिर समय’, के-के गर्न पाइँदैन ?
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आज बिहीबार (मंसिर १) राति १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुँदैछ । यसअघिका निर्वाचनमा ‘मौन अवधि’ भनिने गरेको भए पनि यसपटक आयोगले यसलाई ‘स्थिर समय’का रूपमा व्याख्या गरेको हो ।
निर्वाचन आयोगका अनुसार स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइने छैन ।
मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसार सामग्रीसमेत हटाउनु पर्नेछ ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन पाइने छैन ।
निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।
मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने काम गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।
‘बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न तथा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन हुँदैन । मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन’, आयोगले भनेको छ ।
बुधबार राति १२ बजेबाट मुलुकका सबै नाका बन्द हुनेछन् । बन्द भएका नाकाहरु मतदान सकिएसँगै खुल्नेछन् । त्यस्तै, स्थिर अवधि सुरु भएसँगै मदिरा बिक्री तथा वितरणमा पनि रोक लगाइने भएको छ । गत बुधबार आयोगले मदरी बिक्री वितरणमा रोक लगाने निर्णय गरेको हो ।
उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ । निर्वाचन ऐन, २०७३ को दफा २३ मा आचारसंहिता पालना भए/नभएको सम्बन्धमा आयोगले आवश्यकता अनुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्नसक्ने उल्लेख छ ।
दफा २३ को उपदफा (२)मा अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्न आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिने उल्लेख छ । आचारसंहिता उल्लंघन भएको पाइए वा कुनै पनि उम्मेदवारबाट उल्लंघन भए १ लाखसम्म जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्छ ।