३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

इरानका दुई अभिनेत्री पक्राउ

 मङ्लबार, मंसिर ६ २०७९  

काठमाडौं । इरानका दुई लोकप्रिय अभिनेत्रीहरू देशभर चलेको विरोध प्रदर्शनलाई समर्थन जनाएपछि पक्राउ परेका छन् । गत सेप्टेम्बरदेखि इरानमा देशव्यापी बनेको प्रदर्शनमा ती दुई अभिनेत्रीले समर्थन जनाएपछि हेंगामेह घाजियानी र कातायोन रिआहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जहाँ धार्मिक रित अनुसार हिजाब नपहिरिएको आरोपमा पक्राउ परेकी २२ वर्षीया माशा अमिनीको हिरासतमै मृत्यु भएपछि देशव्यापी रुपमा प्रदर्शन हुँदै आएको छ ।

स्थानीय मिडियाका अनुसार टेलिभिजन सिरिजमा चर्चित अभिनेत्री रिआहीलाई आइतबार इरानी सुरक्षा फौजले पक्राउ गरेको हो । टिभी सिरिज जोसेफ द प्रोफेट र द टेन्थ नाइट साथै द लास्ट सपर जस्ता फिल्ममा अभिनय गरी चर्चा कमाएकी अभिनेत्री रिआहीले अमिनीको मृत्युपछि आफ्नो इन्स्टाग्राममा स्कार्फ बिनाको एउटा भिडियो पोस्ट गरेकी थिईन् ।

यस्तै, एज सिम्पल एज द्याट, डेज अफ लाइफ, जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री घाजिआनीले पनि आफ्नो इन्स्टाग्राममा गत शनिबार स्कार्फ बिनाको भिडियो सार्वजनिक गरेकी थिइन् । इन्स्टामा उनले आफ्नो भिडियो राख्दै उक्त भिडियो नै आफ्नो अन्तिम हुनसक्ने लेखेकी थिइन् ।

घाजिआनी भिडियो सार्वजनिक गरेको भोलिपल्ट नै सुरक्षा फौजबाट पक्राउ परेकी हुन् । उनीहरूलाई इरानी सुरक्षा विरुद्ध गतिविधि गरेको र इरानी शासनविरुद्ध प्रोपगान्डा फैलाएको आरोप लगाइएको छ ।

मानवअधिकार संगठनका अनुसार इरानमा सेप्टेम्बरयता भएको प्रदर्शनको क्रममा सुरक्षा फौजको कारबाहीमा ४७ बालबालिकासहित ३७८ जना मारिएका छन् । प्रदर्शन दबाएका कारण पछिल्लो समय इरान अन्तर्राष्ट्रिय समुदायमा पनि आलोचित भएको छ ।

प्रतिक्रिया सबै