६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

पत्रकार गजेन्द्रलाई पक्राउ गरिएको घट्नाप्रति महासंघको विरोध

 आइतवार, मंसिर ११ २०७९  

काठमाडौं । उदयपुरका पत्रकार गजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेपछि पत्रकार सम्बद्ध विभिन्न संगसंगठनले विरोध जनाएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं. १, पत्रकार महासंघ उदयपुर, आदिवाशी जनजाती पत्रकार महासंघ, फोटो पत्रकार महासंघ उदयपुर र किरात राई पत्रकार संघले प्रेस विज्ञप्ति जारी गर्दै उनको तत्काल रिहाईको माग गरेको हो ।

निगरानी पोष्टका प्रकाशक तथा रेडियो नेपाल उदयपुरका संवाददाता राईलाई शनिबार प्रहरीले निर्वाचनको रिपोर्टिङकै क्रममा गाईघाटमा पक्राउ गरेको थियो । पत्रकार राईलाई पक्राउ पुर्जीबिना जबरजस्ती अमानवीय ढंगले प्रहरीले नियन्त्रणमा लिएको भन्दै महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघ १ नं. प्रदेश समितिका महासचिव विवेक गौतमले विज्ञप्ति जारी गर्दै ‘अनलाईनमा लेखेको समाचारको विषयमा साईबर क्राईमको मुद्धा दायर गरी पक्राउ’ गरिएकोप्रति खेद व्यक्त गर्दै पक्राउ परेका पत्रकार राईलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

यस्तै, पत्रकार महासंघ उदयपुरले विज्ञप्तिमार्फत राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गरेको भन्दै उक्त पक्राउ घट्नाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘समाचार लेखेको विषयमा पत्रकार राईलाई साइबर क्राइम मुद्दा दर्ता भएको छ । यो आफैँमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम हो । राईमाथिको मुद्दा नितान्त समाचार लेखेकै आधारमा भएको हुँदा राज्यले प्रेस जगतलाई हेर्न स्थापना गरेको अर्धन्यायिक निकाय प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोजी निष्कर्षमा पुर्‍याउनसमेत जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, किरात राई पत्रकार संघले समाचार सम्प्रेषणकै भरमा पत्रकार राईलाई पक्राउ गरि कारबाही चलाउन खोज्नु स्वतन्त्र प्रेसको मर्म भावनाविपरित रहेको भन्दै आपत्ति जनाएको छ । पक्राउ परेका पत्रकार राईलाई निशर्त सम्मानजनक तत्काल रिहाई गर्न संघले माग गरेको छ ।

फोटो पत्रकार महासंघ उदयपुर शाखाले पनि विज्ञप्ती जारी गर्दै पत्रकार राईको रिहाईको माग गरेको छ भने नेपाल आदिवाशी जनजाती पत्रकार महासंघ उदयपुर शाखाले विज्ञप्ती जारी गरी प्रेस स्वतन्त्रता हनन नगर्न चेतावनी दिएको छ ।पत्रकार राईलाई उदयपुरबाट प्रहरीले पक्राउ गरेर हाल प्रहरीको साइबरव्यूरो काठमाडौंमा ल्याएको छ ।

यसरी पत्रकारलाई रिपोर्टिङकै क्रममा नियन्त्रणमा लिनु प्रहरीको स्वीकार्य गर्न नसकिने कार्य भएको पत्रकार राजेश चाम्लिङ बताउँछन् । ‘पत्रकार सँधै सही हुन्छन भन्ने मेरो मान्यता छैन’, फेसबुकमा पत्रकार चाम्लिङ लेख्छन्- ‘यसरी सञ्चारमाध्यममा आएका विषयलाई साईबरव्यूरोमार्फत तह लाउँदै जाने हो भने देशका कति पत्रकारले जेलको हावा खानुपर्ला ? सोचनीय विषय बनेको छ । पत्रकार राईको शिघ्र रिहाइका लागि सबैले पहल गरौँ ।’

प्रतिक्रिया सबै