२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

मेलम्चीको पानी काठमाडौंमा वितरणको तयारी

 सोमवार, मंसिर १२ २०७९  

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा वितरणको तयारी थालेको छ । परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको हो । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरण गर्न थालिएको छ ।

खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ । बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो । आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो ।

आयोजनाले सामाजिक सञ्जालमार्फत अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने जानकारी गराएको छ ।

गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी ल्याउनुपर्ने अवस्था छ । २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा गत असारदेखि रोकिएको थियो ।

आयोजनाले यो वर्षको वर्षायाममा आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिएको जनाएको हो ।

आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ ।

दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट फागुन २०७७ मा पहिलोपटक पानी काठमाडौंमा ल्याइएको थियो । १ असार २०७८ मा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ ।

प्रतिक्रिया सबै