अशोक राई सुनसरी १ बाट निर्वाचित
काठमाडौं । सुनसरी १ बाट जनता समाजबादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् । राषट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेता राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भएका छन् ।
यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।
नेता राई अघिल्लो निर्वाचनमा सुनसरी–१ बाटै पराजित भएका थिए । संविधान निर्माणमा पार्टीले खेलेको भूमिकामा असन्तुष्टि जनाउँदै २०६९ लामा एमालेबाट विद्रोह गर्दै अशोकले संघीय समाजवादी पार्टी खेलेका थिए ।
त्यसयता एमाले र अशोकको पार्टीबीच औपचारिकता बाहेक कुनै सम्बन्ध थिएन । तर, यसपटकको निर्वाचनमा अनपेक्षित सम्बन्ध भने बन्यो ।
सत्ता गठबन्धनमा रहँदै आएको अशोकको दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) मनोनयनको आखिरी घडिमा एमालेसँग तालमेल गर्ने अवस्थामा पुग्यो । सुनसरी–१ एमाले एमालेसँगको तालमेलको आधारमा अशोकले टिकट पाएका थिए ।
नेता राई २०२९ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका हुन् । कुनै बेला नेकपा एमालेका लोकप्रिय नेता रहेको राईले पञ्चायतकालमा १३ वर्ष भूमिगत जीवन बिताएका छन् ।
उनी बहुदलीय व्यवस्था स्थापनापछि तीनपटक सरकारको मन्त्री समेत बनेका थिए । २०४८ सालको संसदीय निर्वाचनमा खोटाङबाट प्रतिनिधिसभामा पहिलोपटक निर्वाचित भए । २०५१ सालमा एमाले नेतृत्वको सरकारमा उनी निर्माण तथा यातायात मन्त्री बने । २०५३ सालमा संयुक्त सरकारको संसदीय व्यवस्थामन्त्री र २०६२ साल उनी स्वास्थ्यमन्त्री भए ।
यातायात मन्त्री भएका बेला मध्यपहाडी राजमार्ग निर्माणमा विशेष भूमिका खेलेका राईले स्वास्थ्यमन्त्री भएका बेला बाल मृत्युदर कम गर्न सरकारी अस्पतालबाट सुत्केरी भत्ता दिने कार्यक्रम ल्याएका थिए ।
चार दशक सक्रिय राजनीति गरेका उनले पहिचानसहितको संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता मुद्दामा असहमति राख्दै २०६९ सालमा एमाले परित्याग गरेको घोषणा गरेका थिए ।
२०७० सालको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट सांसद बने । केही राजनीतिक साहित्यिक पुस्तकसमेत लेखेका राई २०७४ सालको निर्वाचनमा सुनसरी–१ बाटै उम्मेदवार बनेका थिए । तर त्यसबेला उनी २२ हजार १२३ मत ल्याएर दोस्रो भए ।