२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

प्रचण्ड र माधवसँग देउवाको छुट्टाछुटै छलफल

 सोमवार, मंसिर १२ २०७९  

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिममा चरणमा रहेको अवस्थामा देउवाले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार नेताहरूबीच समसामयिक विषयमा छलफल भएको छ । उनका अनुसार प्रचण्ड र माधवसँग देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समग्र विषयमा र समसामयिक राजनीतिबारे छलफल गरेको छन् ।

पाँचदलीय गठबन्धनले निर्वाचनमा प्राप्त गरेको परिणामबारे मतगणनाको परिणाम आइसकेपछि समीक्षा गर्ने नेताहरूबीच कुराकानी भएको बताइएको छ । सोमबार बिहान मात्रै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट वार्ता गरेका थिए ।

स्रोतका अनुसार उक्त भेटमा पौडेलले आफू प्रधानमन्त्रीको दाबेदार रहेकाले नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइन्छ । माधवले भने कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार तय भएर आए सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए । कोटेश्वरमा पौडेलसँग भेटेपछि नेपालले बालुवाटारमा देउवासँग भेटवार्ता भएको हो ।

प्रतिक्रिया सबै