२३ जेष्ठ २०८१, बुधबार Wednesday 5 June, 2024

थापाथलीको सुकुम्वासी बस्तीमा आन्दोलन जारी, स्थानीयले जलाए बालेनको पुत्ला

 मङ्लबार, मंसिर १३ २०७९  

काठमाडौं । थापाथलीको सुकुम्बासी बस्तीमा आज पनि अशान्त छ । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्तीका स्थानीयले आज सडकमा मेयर बालेन्द्र शाह (बालेन)को पुत्ला जलाएका छन् ।

उनीहरुले शव राख्ने बाकस (कफिन)माथि बालेनको फोटो राखेर जलाएका हुन् । हाल ५ हजार सुकुम्वासीको जनसंख्या रहेको यस बस्तीमा आज बिहान ८ बजेदेखि यहाँ आन्दोलन जारी छ ।

बस्ती प्रवेश गर्ने सडकहरु उनीहरुले बन्द गराएका छन् । सडकभरी टायर र ढुंगा छरिएका छन् ।

आफूहरुलाई उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । त्यहाँबाट पुनः आफ्नै वस्तीमा फर्किएर उनीहरुले प्रदर्शन गरे ।

अहिले उनीहरुले मेयर बालेन विरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुमध्‍ये केही सुकुम्वासी माइतीघर मण्डलामा सडकमै ब्‍यानर राखेर अनसनमा बसेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेर डोजरले हटाउन खोजेपछि स्थानीय आक्रोसित बनेका हुन् । त्यसक्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र अशान्त भएको छ ।

प्रतिक्रिया सबै