२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

धनुषामा घरेलु हतियार प्रहार गरी एकजनाको हत्या, चारजना घाइते

 शुक्रबार, मंसिर १६ २०७९  

जनकपुरधाम । धनुषामा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् ।

बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताएका छन् ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् । सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औंला काटिएका छन् । अन्य सामान्य घाइते छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको र दुईजना घाइते भएको प्रहरीको भनाई छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ ।

राति ८ बजे घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरेको मतृकका कान्छो छोरा अशोकको भनाई छ ।

करिब दुई महिना अघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरुको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए ।

प्रतिक्रिया सबै