२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

‘सात दलले पायो राष्ट्रिय पार्टीको मान्यता’

 शुक्रबार, मंसिर १६ २०७९  

काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत ‘थ्रेस होल्ड’ कटाएको निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी गराएका हुन् ।

उनका अनुसार समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ८५ मतगणना भइसकेको छ । जसमा नेकपा एमालेले सबैभन्दा बढी २७ लाख ७३ हजार ९९९ मत पाएको छ । कांग्रेसले २६ लाख ४४ हजार २४१, माओवादी ११ लाख ६१ हजार २५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टी, नेपाल ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत पाएका प्रवक्ता वाग्लेको भनाई छ । प्रवक्ता वाग्लेका अनुसार दोलखा, बाजुरा र स्याङ्जा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी छ ।

आयोगले ४ दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमानसमेत गरेको छ । दलहरुले पाएको मत संख्याअनुसार उनीहरुले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मंसिर ४ गते मतदान भएको थियो । बाजुरा, स्याङ्जा र दोलखामा भने विवादका कारण मतगणना ढिला भएको हो । दोलखाका १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो ।

प्रतिक्रिया सबै