१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा प्रहरीले थाल्यो अनुसन्धान

 शुक्रबार, मंसिर १६ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले प्रशासनबाट पत्र आएको र छानबिनको प्रक्रिया अघि बढेको बताएका छन् । सभापति लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ । उनले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकम अनलाईनले प्रकाशित गरेको थियो ।

उकेराका समाचार अनुसार लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन् । उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिएको छैन । विदेशी नागरिकता लिने वित्तिकै नेपाली नागरिकता कायम रहन्न । विदेशी नागरिकता लिने भएपछि आफैले नागरिकता त्याग्नुपर्छ । तर, उनले निष्कृय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको समाचार उल्लेख छ ।

लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए । यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो । आयोगले स्पष्टिकरण सोध्दासम्म मतदान भइसकेको थियो । त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो ।

सो उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो । प्रशासनले यसमा छानबिन गर्न परिसरलाई पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले बताए । विदेशी नागरिकता त्याग्नु भन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ ।

राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ । यदि लिएमा दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया सबै