यही सत्ता गठबन्धनलाई निरन्तरता दिने बालुवाटार बैठकको निर्णय (वक्तव्यसहित)

काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ । बैठकमा चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो’, एक नेताले भने ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष पनि निकालिएको ती नेताको भनाई छ । चुनावपछि गठबन्धनको बैठक पहिलोपटक बसेको हो । बैठकपछि गठबन्धनले संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेको छ । बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ ।
यस्तै? बैठकले आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै गम्भीर समीक्षाका साथ अघि बढ्ने सत्ता गठबन्धनमा रहेका दलहरुले बताएका छन् ।
निर्वाचनका क्रममा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको निष्कर्ष बैठकले निकालेको छ ।
‘निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने छ । गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति हामी आभारी छौं’, बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।