इन्गेजमेन्ट टुटेपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदाह, ४ जनाविरुद्ध जाहेरी

काठमाडौं । राजधानीमा एक युवतीले विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि केटाको घरमा पुगेर आत्मदाह गरेकी छन् । काठमाडौंको बानेश्वरका २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी हुन् ।
उनलाई प्रहरीले तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगियो । तर, सोमबार बिहान पुष्पाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक समेत रहेकी पुष्पाको जलेर मृत्यु भएको हो । विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन् ।
उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ । प्रहरी वृत्त, महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन् । तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ ।
केटा पक्षले घरमा समेत बोलाएर मानसिक यातना दिएको परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख छ । सोमबार बिहान साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीको भनाई छ ।
उनको मृत्यु भएपछि न्यौपानेको परिवारले इन्गेजमेन्ट गरेका २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका सुधन संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ । एसपी मैनालीका अनुसुार जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
परिवारका अनुसार संग्रौला दरबारमार्गस्थित शोरुममा आउने क्रममा २०७८ को माघ महिनादेखि चिनजान भएको थियो । एकअर्काबीच फोन र सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा उनीहरु प्रेम सम्बन्धमा थिए । त्यसक्रममा एकअर्काको घरमा समेत आउजाउ हुने गरेको उनीहरुको भनाई छ ।
त्यसक्रममा दुवै जनाले विवाह गर्ने भनेपछि दुवै पक्षको मञ्जुरीमा १८ भदौमा इन्गेजमेन्ट भएको न्यौपाने पक्षको भनाई छ । त्यसक्रममा एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि १७ कात्तिकमा एकाएक केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेको केटी पक्षको भनाइ छ ।
‘प्रतिवादीले मानसिक यातना दिएपछि घटना हुनुअघि उनले म मर्नुभन्दा अर्को विकल्प रहेन भन्दा पनि घरमा बोलाएर समेत मानसिक यातना दिए’, जाहेरीमा भनिएको छ । परिवारले प्रहरीसँग सुधन र पुष्पाबीच फेसबुक म्यासेन्जर, भाइबर र ह्वाटस एपसहित कल डिटेल विवरण बुझेर अनुसन्धान गर्न पनि माग गरेको छ ।