६ मंसिर २०८०, बुधबार Wednesday 22 November, 2023

मेलम्ची खानेपानी सुन्दरीजल ल्याईयो, राजधानीवासीका घर-घरमा कहिले पुर्‍याइन्छ ?

 मङ्लबार, मंसिर २० २०७९  

काठमाडौं । काठमाडौं उपत्यकामा हरेक दलका सरकारले राजधानीवासीले मेलम्चीको पानी छिट्टै पिउन पाउने उद्घोष गर्दै आएका छन् । राजधानीवासीले मेलम्चीको खानेपानी चाँडै पिउन पाउने भनेर विभिन्न मिति तोकियो । तर, बर्षौँ बर्ष वितिसक्दा पनि राजधानीवासीले खानेपानी उपभोग त के आशा नै गर्न पनि छाडेका छन् ।

हरेकजसो आमनिर्वाचनमा मेलम्चीको पानीको नारा राजधानीका सडकमा लेखिए । यति मितिमा आईपुग्छ भने पनि काठमाडौंमा मेलम्चीको पानी कहिले आउने हो ? अझ कुनै टुँगो छैन ।

सिन्धुपाल्चोकको मेलम्ची खोलालाई काठमाडौं उपत्यकाको पानीको स्रोतका रूपमा बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पाटनर्सले पहिचान गरेको ३२ वर्ष वितिसकेको छ ।

पानी राजधानी लैजाने योजनासहित विकास समिति गठन गरेर आयोजनाको समग्र भौतिक निर्माणको काम सुरु भएको पनि २० वर्ष नाघिसकेको छ ।

यसबीच मेलम्चीको पानी सुन्दरीजल ल्याइएको छ । गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो । २६ किमीको सुरूङ अम्बाथानदेखि सुन्दरीजलसम्म रहेको छ । अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको हो ।

खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको हो । अब केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर-घरमा पठाइने उनको भनाई छ ।

उनका अनुसार पानी सफा हुन केही समय लाग्न सक्छ । काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी पनि गराइसकिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक भने पाएका छैनन् । उनीहरूले पानी वितरण रोक्ने सक्ने चेतावनीसमेत दिइरहेका छन् ।

सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ । नयाँ बजेट ल्याउँदा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरी मेलम्ची आयोजनालाई खानेपानी विभागअन्तर्गत राख्ने भनेको थियो । तर, खासै काम अघि बढेको थिएन ।

कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइनेछ । उनका अनुसार अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ । साथै बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा पनि तत्काल कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढिरहेको छ ।

२०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो । गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौं पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको बन्द गरेर पानी पठाउन रोकिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार पुनः अस्थायी बाँध हालेर काठमाडौंमा पानी पठाउन थालिएको हो । अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउनेछ ।

मेलम्चीबारे प्रकाशमानसहितका सांसदका नौ बुँदे माग
मेलम्ची खानेपानी आयोजनालाई लिएर काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहसहितका जनप्रतिनिधिहरु प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगेका छन् । केही दिनअघि मेलम्चीको मुहान क्षेत्र अम्बाथान पुगेर आएका प्रकाशमानसहितका जनतप्रतिनिधिहरुले तत्काल र दीर्घकालमा गर्नुपर्नेसहित नौ बुँदे माग पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो । नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ज्यूले देख्नु भएको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना कांग्रेस नेतृत्वमै साकार भएको छ । मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमी प्रति काठमाडौंवासी आभारी छौँ । २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण यसको भविष्य अहिले अन्योलमा पर्ने चिन्ता काठमाडौँबासीमा छाएको छ । बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भएपनि काठमाडौं ल्याउने काम भएको छ । काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्चीलाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको छ’ मागपत्रमा भनिएको छ ।

मागपत्रमा तत्काल गर्नुपर्ने विभिन्न ५ बुँदे काम निर्धारण गरिएको छ । जसमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको बजेटमा उल्लेख हुँदा अन्योल बढेको उल्लेख छ ।

यस्ता छन् माग पत्र

तत्काल गर्नुपर्ने
१. आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योल देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने।

२. मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने।

३. सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने।

४. वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने।

५. कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक छ।

दीर्घकालीन रूपमा गर्नुपर्ने

१. बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडि बढाउनुपर्ने ।

२. अहिले खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउनुपर्ने ।

३. मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने ।

४. मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने । मेलम्चीको मुहान क्षेत्रमा अझै बाढिपहिरोको जोखिम रहिरहेको छ ।

अहिले अस्थायी रुपमा पानी ल्याउने तयारीले हामी उत्साही छौं । तर, केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरबासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं । तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँ ।

 

प्रतिक्रिया सबै