भारतलाई नेपाल सरकारको कूटनीतिक नोट : महाकालीमा एकतर्फी तटबन्ध नबनाउ

काठमाडौं । नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो ।
परराष्ट्रका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कूटनीतिक नोट पठाएको हो ।
भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको ती अधिकारीको भनाई छ । यस्तै सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ ।
भारतको धार्चुला र नेपालको दार्चुलाको सीमानदी महाकालीको किनारमा भारतले एकतर्फी रुपमा करिब एक वर्षयता तटबन्ध निर्माण गरिरहेको छ । नेपालको दार्चुलाका स्थानीय बासीले उक्त तटबन्ध निर्माणको निरन्तर विरोध गरेपछि भारतीय पक्षबाट आक्रमण भइरहेको थियो ।
केही दिनअघि मात्रै तटबन्ध निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हान्दा तीनजना बालकसहित केही घाइते समेत भएका थिए । दार्चुला सदरमुकाम खलंगामा विरोध चर्किर्एपछि भारतीय पक्षले नेपालको प्रशासनलाई जानकारी समेत नगराई सीमापुल केही घण्टा बन्द गराएको थियो ।