२० मंसिर २०८०, बुधबार Wednesday 6 December, 2023

चोलेन्द्रलाई सर्वोच्चको गेटमा अवरोध गर्ने बारको तयारी

 बुधबार, मंसिर २१ २०७९  

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारले अवरोधको तयारी गरेको हो ।

सर्वोच्च बारका सदस्य डा। रामहरि त्रिपाठीले आफुहरु प्रदर्शनको तयारीमा रहेको बताए । ‘हामी जबरालाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं,’ उनले भने ।

संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा सर्वोच्च अदालत फर्कने तयारीमा छन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए ।

महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए ।

बुधबार संसदका महासचिव डा. भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका छन् । प्रधानन्यायाधीश जबराले सुरक्षा व्यवस्थाको तयारी गरेर आजैदेखि काममा फर्कने बताएका छन् ।

प्रतिक्रिया सबै