मेलम्ची खानेपानी तेस्रोपटक पुनः वितरण, कहाँ कति लिटर पानी वितरण हुँदैछ ?

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरू भएको छ । शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो ।
आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण सुरु गरेको जनाएको छ । महाँकाल पानीपोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटारबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानीपोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।
खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले अहिले काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिब १२ करोड लिटर रहेको बताए । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने उनको भनाई छ ।
मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घन्टा काठमाडौं उपत्यका लिमिटेडले बिस्तार गरेको पुरानो पाइपलाइनबाट आलोपालो पानी वितरण हुनेछ ।