भ्रष्टाचार नियन्त्रण चुनौती बन्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको प्रधानमन्त्री देउवाको भनाई छ ।
भ्रष्टाचार बिरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको भन्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको बताए ।
भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै एकजुट हुन आवश्यक भएको उनले बताए । समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यकाबिरुद्धमा आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको उनको भनाई छ ।
भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीन वटै तहबाट राष्ट्रिय कार्ययोजना कार्यान्वयन भइरहेको उनको भनाई छ ।
‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी स्वच्छ, स्वस्थ र विकिसित समाज निर्माण्को लागि हामी सबै प्रतिवद्ध हुन आवश्यक छ’, प्रधानमन्त्री देउवाले भने— ‘समाजको कलंकको रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न यस्ता गतिविधिबाट टाढै रहन र भ्रष्टाचारजन्य कार्यका बिरुद्ध आवाज मुखरित गरी भ्रष्टाचारका गतिविधिहरुको नियन्त्रणका लागि आवश्यक कार्य गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानूनमा आवश्यक सुधार गरी अघि बढ्न सरकार प्रतिवद्ध छ ।’
प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणमा आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप क्रियाशील रहने विश्वास व्यक्त गरे । उनले भ्रष्टाचारमुक्त समुन्नत राष्ट्र निर्माणमा सबैजना प्रतिवद्ध भइ अघि बढ्न आग्रह गरे ।
संघीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।