२० मंसिर २०८०, बुधबार Wednesday 6 December, 2023

संघीयता सफल कार्यान्वयनका लागि तीनै तहको सरकार एकजुट हुनुपर्छ : प्रधानमन्त्री

 आइतवार, मंसिर २५ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन् ।

आईतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्‍घाटन गर्दै देउवाले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अव नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए ।

देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सवलीकरण हुने गरी कानुनहरुको निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे । जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाई, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेला सरकार लगायतका सबै सार्वजनिक सेवाहरुलाई प्रभावकारी रुपमा सबै तहमा लागु गर्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाको जोड थियो ।

प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिवी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरुको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्न सक्ने गरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने बताए । दिगो विकास लक्ष्य अनुरूप अघि बढनगरी योजना तर्जुमा गर्न स्थानीय तहले प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया सबै