समानुपातिक बन्द सूचीको विवरण सच्याउन दलहरुलाई आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीको विवरण सच्याउनका लागि पत्राचार गरेको छ ।
आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि भोलि (सोमबार) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।
आयोगले यसबारे जानकारी दिँदै समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको पनि बताएका छन् ।
केही राजनीतिक दलहरूले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएको उनको भनाई छ । सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले बताए ।
आयोगले दलहरूबाट त्रुटी सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरूलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने उनले जानकारी दिए ।