२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

सरकारले अध्यादेश ल्याउनु सकारात्मक, विरोध गर्नुपर्ने कारण छैन : अध्यक्ष रञ्जिता श्रेष्ठ

 सोमवार, मंसिर २६ २०७९  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको प्रतिक्रिया दिएकी छन् ।

सोमबार डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यादेश ल्याउनु आफूहरुका लागि सकारात्मक कुरा भएको बताएकी हुन् । उनले राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने विश्वाससमेत व्यक्त गरिन् ।

अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने उनको दाबी छ । सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उनले बताईन् ।

रेशम चौधरी सोमबार नै छुट्ने भन्दै नागरिक उन्मुक्तिका कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए । त्यसपछि श्रेष्ठले अध्यादेशको प्रक्रियामा केही दिन लाग्ने बताएपछि उनीहरु फर्किएका थिए ।

टीकापुर घटनामा दोषी ठहर भएर रेशम चौधरी जेल सजाय भोगिरहेका छन् । २०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । यसबाट कस्ता–कस्ता मुद्दा फिर्ता लिन नमिल्ने भनी किटान गरिएका नकारात्मक सूची (नेगेटिभ लिस्ट)लाई संशोधन गरिनेछ ।

उक्त अध्यादेश राष्ट्रपतिबाट हुबहु जारी भयो भने जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुट्नेछन् । सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याएको आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया सबै