चिसोसँगै वायु प्रदूषण पनि बढ्यो

काठमाडौं । नेपालमा चिसोसँगै वायु प्रदूषण पनि बढेको छ । आज बिहान साढे ७ बजेको वायु गुणस्तर सूचांक एक्यूआई तथ्यांकअनुसार भक्तपुरको मध्यपुर ठिमीमा १ सय ७३, तुल्सिपुरमा १ सय ६० र काठमाडौंमा १ सय ५३ रहेको छ ।
इटहरीमा हावाको गुणस्तर सबैभन्दा खराब २ सय ३७ रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यस्तै, भक्तपुर, दाङको तुल्सिपुर र काठमाण्डौको हावाको गुणस्तर पनि खराब छ ।
वातावरण विभागले टोल छिमेकमा खुला रुपमा फोहोर जलाउने काम नगर्न आग्रह गर्दै आएको छ । खुला रुपमा फोहोर जलाएको पाइएमा कारबाही हुने पनि विभागले जनाएको छ ।
साथै, विभागले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वातावरण विभागले गएको २२ गते सूचना निकालेर वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुँवा र खुल्ला रुपमा जलाउने फोहोर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको हो ।
आउँदो पुस १ गतेदेखि परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने विभागले चेतावनी पनि दिएको छ ।