सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाडौंमा प्रदर्शन, रेशमलाई देखाउने, आलमलाई छुटाउने !

काठमाडौं । सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।
सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेको भन्दै उनीहरुले आज बिहान त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा पनि गरेको छ । विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई छुट दिन अध्यादेशमार्फत फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई सत्ता गठबन्धनकै केही नेता तथा एमालेका नेताहरुले विरोध गरेका छन् ।
उनीहरुले ‘रेशमलाई देखाउने आलमलाई छुटाउने’, ‘राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गरौँ’ जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए ।
राजनीतिक समूहमा आबद्ध भएर विभिन्न कसुरमा जेलमा रहेका कैदीबन्दीलाई रिहाइ गर्न मन्त्रिपरिषद्ले आइतबार अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
देउवा नेतृत्वको कामचलाउ सरकारले मधेस आन्दोलन, टीकापुर घटना, नेत्रविक्रम चन्द समूह र सीके राउत समूहका नेता÷कार्यकर्ताविरुद्ध विचाराधिन मुद्दा फिर्ता लिने तयारी गरेको छ । सरकारले अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरिसकेको छ ।
टीकापुर घटनामा दोषी ठहर भएर रेशम चौधरी जेल सजाय भोगिरहेका छन् । २०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । यसबाट कस्ता–कस्ता मुद्दा फिर्ता लिन नमिल्ने भनी किटान गरिएका नकारात्मक सूची (नेगेटिभ लिस्ट)लाई संशोधन गरिनेछ ।
उक्त अध्यादेश राष्ट्रपतिबाट हुबहु जारी भयो भने जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुट्नेछन् । सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याएको आलोचना पनि भइरहेको छ ।