रुपन्देहीमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास

काठमाडौं । नेपाली सेना र र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ शुक्रबारदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले सूर्य किरण सैन्य अभ्यासको १६औँ संस्करण एक विशेष कार्यक्रमबीच शुभारम्भ गरे ।
विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी यो सैन्य अभ्यास सुरु भएको हो । यो अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन् ।
संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुनेछ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।
२०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा १५ पटक सञ्चालन भइसकेको छ ।
संयुक्त सैन्य अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाइँदैछ । नेपाली सेनाका अनुसार यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनेछ । यस अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने र दुवै देशका सेनाबीच आपसी समझदारीमा अभिवृद्धि हुनेछ ।