अन्ततः मेस्सीको सपना पुरा, अर्जेन्टिनालाई विश्वकपको उपाधि

काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४-२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।
यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।
टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरेका थिए ।
तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे ।
२-१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३-१ मा पुर्याए ।
फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए । यसअघि खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।
८० मिनेटसम्म अर्जेन्टिनाले २-० को अग्रता बनाएको थियो । लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो । तर फ्रान्सले गोल गर्ने ८० औं मिनेटसम्म कुर्न पर्यो । ८० औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरेका थिए ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए ।
तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पाएपछि युवा स्टार एम्बाप्पेले विश्वकप फाइनलमा ह्याट्रक पूरा गरे । तर, उनको टिम टाइब्रेकरमा चुक्यो र लगातार दोस्रो पटक विश्वकप जित्ने सपना पूरा हुन सकेन ।
अन्ततः मेसीको सपना पुरा
विजेता लियोनेल मेस्सीले विश्वकप फुटबल २०२२को फाइनल खेलअघि सात पटकका बालोन डि’ओर जितेका छन् । उनले आफ्नो फुटबल करियरमा कयौँ उपाधिहरू जिते । तर, पेले र म्याराडोनासँगै राखेर ‘अहिलेसम्मकै महान् खेलाडी को ? ’ भन्ने प्रश्न आउँदा सधैँभरि उनीमाथि एउटै प्रश्न सोझिन्थ्यो- मेस्सीले अर्जेन्टिनालाई विश्व फुटबलको सर्वोच्च उपाधि दिलाएको खै ? आज मेस्सीले सो प्रश्नको उत्तर पनि दिएका छन् ।
सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा मेस्सीले अर्जेन्टिनालाई विश्वकपको उपाधि नजिकसम्म पुर्याएका थिए । तर, फाइनल खेलमा अर्जेन्टिना जर्मनीसँग पराजित भयो । मारियो गोट्जेले अतिरिक्त समयमा गोल गरेपछि मेस्सीको सपना अधुरै रहेको थियो ।
आजको फाइनल खेलमा मेस्सीले एक पछि अर्को कीर्तिमान बनाएका छन् । खेल सुरु भएसँगै विश्वकपमा सबैभन्दा खेल खेल्ने खेलाडीको कीर्तिमान उनको नाममा बनिसकेको थियो । उनले जर्मनी लोथर माथेयसको २५ खेलको कीर्तिमान भङ्ग गरे ।
त्यसपछि लुसेल स्टेडियममा खेलको २३औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्को कीर्तिमान बनाएका छन् । एउटै विश्वकपको हरेक नकआउट चरणमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका हुन् । यति मात्र होइन समूह चरणदेखि विश्वकपको हरेक चरणमा गोल गर्ने पनि उनी एक्लो खेलाडी हुन् । ३६औँ मिनेटमा एंखेल डि मारियाले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । पहिलो हाफमा फ्रान्स अर्जेन्टिनाको तीव्र गतिको खेल र दबाब सामु निरीह देखिएको थियो ।
तर दोस्रो हाफमा दुई मिनेटको अन्तरमा किलियान एम्बाप्पेले दुई गोल गरेपछि फ्रान्स खेलमा फर्कियो । निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३-३ को बराबरीमा पुर्याएका थिए । त्यसपछि कुनै गोल हुन सकेन र खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा फ्रान्सका किंग्सले कोम्यान र औरेलियन टुअमानी गोल गर्न चुकेपछि खेल अर्जेन्टिनाले ४-२ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
फ्रान्समाथिको जीतसँगै अर्जेन्टिनाले तेस्रो पटक उपाधि जित्न सफल भएको हो । सन् १९८६ पछि अर्जेन्टिनाको यो पहिलो विश्वकपको उपाधि हो । त्यतिबेला अर्जेन्टिनाले महान् खेलाडी म्याराडोनाको नेतृत्वमा विश्वकपको उपाधि जितेको थियो । त्यो भन्दा अघि सन् १९७८ मा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको थियो ।
मेसीले सन्याल नलिने
मेसीले तत्काल सन्यास नलिने बताएका छन् । उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेसीले भनेका छन् । उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने बताए ।
हजारौँ समर्थक सडकमा
आइतबार बेलुकाको विश्व कप फाइनलमा तीन घण्टाको रोलर कोस्टर राइडपछि अर्जेन्टिनाले पेनाल्टि किकमार्फत् उपाधि जित्दा धेरैको आँखामा खुसीको आँसु देखियो ।
अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली ला अल्बिसेलेस्टेले फ्रान्सलाई हराउने बित्तिकै हज्जारौँ प्रशंसक यस राजधानीको सडकमा उत्रिएका थिए । त्यहाँ एक किसिमको जनसागर नै थियो । यो जनसागर ब्युनोस आयर्सस्थित ओबेलिस्कमा जम्मा भएको थियो । ग्रीष्मको प्रारम्भिक उत्सवका लागि यो एक भावनात्मक सुरुवात थियो- हर्न बजाउँदै, अपरिचितलाई अँगालो हाल्दै र हो, रुँदै । उनीहरु अर्जेन्टिनाको जर्सी विशेषगरी लियोनेल मेस्सीले लगाउने १० नम्बरको जर्सीमा सजिएका थिए ।