२२ मंसिर २०८०, शुक्रबार Friday 8 December, 2023

थाइल्यान्डमा पानीजहाज डुब्दा ३१ जना बेपत्ता

 मङ्लबार, पुस ५ २०७९  
थाइल्यान्डको दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारनजिकै डुब्दै गरेको नौसेनाको ‘एचटीएमएस सुखोथाई’ पानीजहाज । तस्बिर : एपी

काठमाडौं । थाइल्यान्डको दक्षिणपूर्वी तटमा सोमबार पानीजहाज डुब्दा कम्तीमा ३१ जना बेपत्ता भएका छन् । थाई नौसेनाका प्रवक्ताका अनुसार ‘एचटीएमएस सुखोथाई’ पानीजहाजमा एक सय जनाभन्दा बढी नौसैनिक रहेका थिए ।

थाइल्यान्डको खाडीमा गस्ती गरिरहेका बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनार नजिकै रहेको बेला जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि दुर्घटना भएको थियो ।

नौसेनाले सार्वजनिक गरेका तस्बिरमा कडा छाल पार गर्ने क्रममा जहाज एक छेउबाट डुब्ने क्रममा ढल्किरहेको देखिन्छ । दुर्घटनालगत्तै उद्धार अभियान सुरु गरिएको भए पनि ३१ जना नाविक बेपत्ता भएको नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बताए ।

बेपत्ता सैनिकको खोजी भइरहेको मोन्ट्राडपालिनले बताए । ‘हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं,’ उनले भने, ‘जहाजको ‘अपरेटिङ सिस्टम’ ले काम गर्न छाडेपछि जहाजले नियन्त्रण गुमाएको थियो ।’ दुर्घटनामा परेको जहाज सन् १९८० को दशकमा निर्मित भएको बीबीसीले जनाएको छ ।

जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुईवटा हेलिकोप्टर, दुईवटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको प्रवक्ता सुखोथाईले बताए । उनले बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी रहेको बताए । घटनापछि उद्धार गरिएका ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले एक विज्ञप्ति जारी गर्दै अधिकारीहरूले घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् । ‘घटनापछि विकसित घटनाक्रमलाई मैले नजिकबाट नियालिरहेको छ । पाँच जना गम्भीर घाइते भएका छन्,’ प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया सबै