मेसीलाई वर्ल्ड स्पोर्ट स्टार अफ दी इअर अवार्ड

काठमाडौं । विश्व विजेता अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।
मेसीलाई बेलायती मिडिया बीबीसीले २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाएका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै तेस्रो पटक उपाधि जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
मेसीको यो पहिलो विश्वकप उपाधि हो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्ने मेसीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए ।
मेसीले यस विश्वकपमा ७ खेलमा ७ गोल गरेका छन् । उनले ७ मध्ये ६ खेलमा गोल गरे भने फाइनलमा २ गोल गरेका थिए ।
मेसी विश्वकप उपाधि जितेपछि विश्वकै महान खेलाडीको सूचीमा समावेश भएका छन् । उनी पेले र म्याराडोनाको लेभलमा पुगेका छन् । मेसीले गत वर्ष अमेरिकाका लागि कोपा अमेरिका जितेका थिए ।
मेसीले सर्वाधिक ७ पटक बालोन डी’ओर अवार्ड समेत जितेका छन् । साथै उनले चार पटक च्याम्पियन्स लिग, १० ला लिगा र एक पटक फ्रेन्च लिग वानको उपाधि पनि जितेका छन् ।
मेसीले अर्जेन्टिनाका लागि १७२ खेल खेल्दै ९८ गोल गरेका छन् । मेसीले आफ्नो करियरमा कूल ७९३ गोल गरेका छन् ।
अर्जेन्टिनालाई पहिलो उपाधि दिलाएपछि मेसीले सन्यास नलिने समेत प्रष्ट पारेका छन् । विश्व च्याम्पियन खेलाडीको रुपमा अझै खेल्ने चाहना भएको उनले बताए ।
विश्वकपमा मेस्सीलाई किन लगाइयो कालो पोशाक ?
विश्वकप जितपछि मेस्सी स्टेजमा अवार्ड लिन जाँदाको एक घटनाको विषयमा अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । सबैभन्दा पहिला मेस्सीलार्य गोल्डेन बलको अवार्ड दिन मञ्चमा बोलाइएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यो अवार्ड दिइन्छ ।
त्यसपछि फिफा विश्वकपको उपाधि लिन एकएक गरेर स्टेजमा पुगे, यसैबीच सबैको ध्यान मेस्सीमा केन्द्रित थियो । मेस्सी सबैभन्दा अन्तिममा स्टेजमा पुगे । मञ्चमा उनलाई मेडल लगाइएपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक लगाइदिए । यो पोशाकको विषयमा सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ ।
किन लगाइयो त मेस्सीलाई उक्त पोशाक ? कतार विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘यो एक आधिकारिक अवसरको लागि तयार गरिएको पोशाक हो र यो समारोहको लागि लगाईन्छ । यो मेस्सीको जितको सम्मानमा उनलाई लगाइएको हो ।’
उनले भने- ‘विश्वकप हाम्रो लागि अरब र मुस्लिम संस्कृति विश्वलाई देखाउने अवसर थियो। यसले कतारको मात्र होइन, एक क्षेत्रको उत्सवको खुसीको प्रतिनिधित्व गर्छ ।’
मेस्सीलाई ओढाइएको पोशाकर्ला बिस्ट पनि भनिन्छ। अरब मुलुकमा यस्तो पोशाक कुनै विशेष समारोहमा लगाइन्छ। त्यसैले आइतबार फाइनल जितेपछि विजेता टोलीका कप्तानलाई उक्त पोशाक लगाइएको थियो ।
सुरुमा त मेस्सीलाई यो पोशाक कसरी लगाउने हो भन्ने पनि थाहा थिएन । शेख तमिम बिन हमादले उनलाई यो पोशाक लगाउन सहयोग गरे । त्यसपछि मेस्सी उपाधि लिएर खुसीयाली मनाउँदै आफ्नो टोलीतर्फ अघि बढे ।
सामाजिक सञ्जालमा भने यो पोशाकबारे मिश्रित प्रतिक्रिया आइरहेको छ । केहीले कालो पोशाकको कारण मेस्सीको राष्ट्रिय टोलीको जर्सी छोपिएको भन्दै आलोचना गरेका छन् भने केहीले अरब मुलुकको पोशाकको पनि सम्मान भएको भन्दै सराहना गरेका छन् ।