देउवा संसदीय दलको प्रस्तावक बन्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा प्रधानमन्त्री भएर शेरबहादुर देउवाले धेरै राम्रा काम गरे पनि पटक-पटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामको चर्चा हुन नसकेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रस्तावकका रूपमा हेर्न चाहेको बताए ।
प्रधानमन्त्री हुँदा देउवाले मुक्त कमैया, दलित, महिला, जनजातिलगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको उनले बताए । प्रधानमन्त्री देउवासमक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रस्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको उनको भनाई छ ।
पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रस्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने शर्माको भनाइ छ । महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको स्पष्ट पारे ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा जसले धेरै कर्महरु देशको लागि गर्नुभएको छ । उहाँले गरेका राम्रा कर्महरु धेरै छोपिएका छन् । कमैयाको मुक्ति भएर एउटा घरबाट बेचिएर अर्को घरमा जाने चलन अन्त्य भयो, दलित, महिला आयोगहरु उहाँकै नेतृत्वमा सुरु भएको हो ।’ उनले भने- ‘उहाँले गरेको यी राम्रा कर्महरु बारम्बार प्रधानमन्त्री भइरहनेको नाममा छोपिएका छन् । यो बेला उहाँका सामुन्ने पनि के अवसर छ भने म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ ।’
गगन थापाको प्रस्तावक आफु बन्ने जनाउँदै महामन्त्री शर्माले भने— ‘आज साँझ हुने उम्मेदवारी दर्तामा शेरबहादुर देउवाको नाम संसदीय दलको नेताको रूपमा होइन, संसदीय दलको कुनै अर्को नेतालाई प्रस्तावकका रूपमा हेर्न पाइनेछ । म संसदीय दलको नेतामा गगन थापालाई राखेर प्रस्तावक बन्न उभिनेछु ।’