२४ चैत्र २०८०, शनिबार Saturday 6 April, 2024

देउवाविरूद्ध महामन्त्री गगनले दिए उम्मेदवारी, प्रस्तावकमा शेखर, समर्थकमा धनराज, विश्वप्रकाश र प्रदीप

 मङ्लबार, पुस ५ २०७९  

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरूद्ध इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।

गगनको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् ।

संस्थापनइतर समूहबाट यसअघि नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेका थिए । उम्मेदवार बनाउन केही दिनदेखि संस्थापनइतर समूहको छलफल हुँदै आएका थिए ।

संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ । आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ ।

बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइने समय छ । मंगलबार बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि (बुधबार) बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँनेछ । विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्नेछ ।

प्रतिक्रिया सबै