ओलीको आरोप : चुनावमा सत्तागठबन्धनबाट धाँधली र बुथ कब्जा भयो, एमालेको विजय खोसियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सत्तागठबन्धनले धेराबन्दी, धाँधली र बुथ कब्जा गरेको बताएका छन् ।
एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मंगलबार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि एमालेले सबै चक्रव्युह तोडेको बताए । सत्ता गठबन्धनका यस्ता गतिविधि भएपनि चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको उल्लेख गर्दै अध्यक्ष ओलीको भनाई छ ।
‘धेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा हामी लोकप्रिय मतमा पहिलो भयौं । राज्यशक्तिको चरम दुरुपयोग भयो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो’, ओलीले भने । कतिपय अवस्थामा एमालेको विजय खोसिएको ओलीले उल्लेख गर्दै ओलीले निर्वाचनमा आयोगले पनि निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाए ।
केहीले चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ पनि भनेको तर अहिले कहाँ छ भन्ने संसारले थाहा पाएको उनले बताए । ओलीले भने- ‘एमालेलाई माटो चढाउनु पर्दैन र टर्च बाल्न पर्दैन र नेकपा एमालेको गतिविधि र चाल जसले जहाँबाट पनि सुन्न सक्छ नेपालबाट मात्रै होइन विश्वभरबाट । विकास र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई लक्ष्य बनाएर अघि बढेको छ ।’
अहिले मुलुक गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका छन् । उनले कम्युनिस्ट आन्दोलनलाई बहुमतमा पुर्याएको तर त्यसमा प्रहार गर्ने काम भएको उनले उल्लेख गरे ।
कार्यक्रममा एमाले समानुपातिकतर्फ पहिलो भएकोलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । प्रज्ञा परिसरमा रहेको डबलीदेखि हलसम्म समानुपातिकतर्फ पाएको मतसहितको नेपालको नक्सा र प्रचार सामग्री राखिएको छ ।
प्रज्ञा परिसरमा एमाले अध्यक्ष ओलीका ‘कटआउट’ समेत राखिएका छन् । गत मंसिर ४ गते सम्पन्न चुनावमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एमालेले ४४ र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको थियो । एमालेले समानुपातिकतर्फ पहिलो दल बन्दै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो ।