८ मंसिर २०८०, शुक्रबार Friday 24 November, 2023

रवि लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

 बुधबार, पुस ६ २०७९  

काठमाडौं । नागरिकता विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले रवि विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

लामिछानेले दल दर्ता गर्ने बेलादेखि नै त्याग भइसकेको नागरिकताको प्रतिलिपि प्रयोग गरेको कारण दल दर्ता हुँदा प्रयोग भएको सभापतिको पद, निर्वाचनमा भाग लिँदाको मनोनयनदेखि सांसद पदमा सपथ नगराउन सम्मको माग दावी लिएर सर्वोच्चमा रिट परेको थियो । मंसिर २८ गते संवैधानिक इजलासमा दर्ता भएको उक्त रिट बुधबारको संवैधानिक इजलासमा पेसी चढेको थियो ।

रिट निवेदक युवराज पौडेलका अनुसार बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले सांसद पदको शपथ नगराउन माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर, उक्त विवादका विषयमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेलगत्तै लामिछानेले सांसद पदको शपथ गर्ने बाटो खुला भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अमेरिकी नागरिकता लिएको र अमेरिकी नागरिकता त्याग गरेको भनेपनि त्यसको निस्सा जिल्ला प्रशासन कार्यालयमा पेश नगरेको र पुरानो नागरिकता सक्रिय नभएकै अवस्थामा निर्वाचन आयोग लगायतलाई झुक्यानमा पारी मनोनयन दर्ता गरेको भन्दै उक्त सबै कार्य बदर गर्न माग गरिएको थियो ।

 

प्रतिक्रिया सबै