२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

साबुन उद्योग खोलेर जनतालाई रोजगार दिने हर्क साम्पाङको काममा उच्च अदालत तगारो

 बिहिबार, पुस ७ २०७९  

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ निर्वाचित भएको भोलिपल्टै जनतामाझ आफूले गरेको बाचा पूरा गर्न काममा खटिन थाले । स्वतन्त्र उम्मेदवारीबाट धरानको प्रमुख पदमा विजयी बनेपछि चर्चामा रहेका हर्कराजले धरानमा श्रम-संस्कृति अभियान थालेर अहिले विश्वभरबाट उनको प्रशंसा हुने गर्छ । वृक्षारोपन, लागुऔषध दुर्व्यशनीविरुद्ध जनचेतना, ट्राफिक जनचेतना जस्ता कार्यक्रममा निरन्तर उनी लागि रहेका छन् ।

मेयर हर्कराजले पकुवा जस्ता खोलाहरुबाट पानीको मुहान-श्रोत पत्ता लगाई सर्वसाधरणलाई श्रमदानमा जुटाएर धरानमा नगरपालिकको खर्चबिना नै पानी ल्याउन सफल भइसकेका छन् ।

धरानको सर्दु खोलाबाट पम्पिङ गरेर पानी तान्दा मात्रै मासिक ३० लाखसम्म बिजुलीको बिल उठ्ने गरेको र वार्षिक खर्च करोडौं हुने गरेको थियो । त्यही खर्चलाई घटाउनका लागि पकुवा खोला तथा अन्य धेरै खोल्सीको पानी जम्मा गर्ने आफ्नो योजनामा निरन्तर हर्कराज लागिरहेका छन् । उनकै योजनामा धरानबासीकै जनश्रमदानले सर्दुखोलाको पानीबाट प्रोटोटाइप हाइड्रो विजुली समेत उत्पादन गरिएको छ ।

पछिल्लो समय आफ्नो अभिव्यक्ति र स्टाटसका कारण चर्चामा आइरहने मेयर हर्कराज धरानमा साबुन उधोग बनाएर स्थानीय जनतालाई रोजगार दिने भन्दै श्रमदानबाटै ढुंगा जम्मा गर्ने, गिटी कुट्ने जस्ता काममा लागिरहेका छन् । तर, उधोग खोलेर जनतालाई रोजगार दिने जस्तो योजनामा पनि केही व्यक्तिले विवादमा फसाउने र आफूलाई काममा अवरोध गरिरहेको मेयर हर्कराज बताउँछन् ।

यस्तै, प्रक्रिया पुरा नगरि वन क्षेत्रको जग्गामा साबुन उद्योगको काम अघि बढाएको भन्दै उनलाई विवादमा ल्याउन खोजिएको छ । धरानमा उद्योग खोल्न मेयर हर्कलाई अदालतले अंकुश लगाएको हो ।

जिल्ला वन कार्यालय सुनसरीले दायर गरेको रिटमा वनको पक्षमा बुधबार उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी भएको छ । डिभिजन वन अधिकृत भिमबहादुर कालिकोटेले मंसिर २९ गते मेयर साम्पाङ र उपमहानगरपालिकाविरुद्ध उत्प्रेषणयुक्त परमादेशको माग गर्दे मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा बुधबार न्यायाधिश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो ।

अदालतको यो आदेशसँगै धरानको वडा-२० स्थित नमुना टोलमा जारी रहेको साबुन उद्योगको काम रोक्नु भनिएको छ । मेयर साम्पाङले माया धराने साबुन उत्पादन गर्ने भन्दै त्यहाँ शिलान्याससमेत गरेका थिए । डोजरले जग्गा सम्याएर गिट्टी कुट्न श्रमदान कार्य भइरहेको थियो । अदालतको आदेश आएपछि बिहिबार बिहान मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा ‘वन विभाग र राजनीतिक दल धरानको उत्पादन र रोजगारी रोक्न लागेको’ बताएका छन् ।

साबुन उद्योग बनाउन मेयर साम्पाङले प्रस्ताव गरेको जग्गा वनको क्षेत्रमा पारेपछि कानुनी अडचन आएको थियो । उक्त अड्चन फुकाउन भदौ तेस्रो साताको कार्यपालिका बैठकले धरान २० देवीगाउँको क्षेत्रलाई औद्योगिक ग्रामकोरुपमा विकास गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । मेयर साम्पाङले साबुन उद्योग खोल्न प्रस्ताव गरेको जग्गा जलकन्या सामुदायिक वनले चिल्ड्रेन पार्क बनाउने कार्ययोजना बनाएको थियो ।

 

प्रतिक्रिया सबै