१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

 बिहिबार, पुस ७ २०७९  

काठमाडौं । मंसिर ४ को निर्वाचनबाट विजयी भएका प्रतिनिधिसभाका सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरुलाई ज्येष्ठ सदस्य ७१ वर्षीय सांसद पशुपति शमेशर जबराले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथका क्रममा नेपाली, संस्कृत, मैथिलीसहित विभिन्न १४ मातृभाषामा सांसदहरुले शपथ लिएका छन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिईन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यमध्ये ४ जना सांसद शपथ कार्यक्रममा अनुपस्थित भएका छन् ।

अनुपस्थित सांसदमा नेकपा एसका प्रेम आले, माओवादी केन्द्रका महिन्द्रराय यादव, कांग्रेस माया राई र माओवादीका रामकुमार राई रहेका छन् । महिन्द्रराय यादवको शपथ कार्यक्रम शुक्रबार साढे ११ बजे सिंहदरबारमा तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया सबै