सत्ता गठबन्धनबाटै सरकार बनाउने समझदारी : पहिलो कार्यकाल प्रधानमन्त्री प्रचण्ड कि देउवा ?

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरू औपचारिक तथा अनौपचारिक रुपमा नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने समझदारी भइसकेको छ । तर, सरकार बनाउने विषयमा समझदारी भए पनि पहिलो कार्यकाल प्रधानमन्त्री को हुने भन्ने विषयमा भने रस्साकस्सी छ ।
पहिलो चरणमा प्रधानमन्त्री देउवा हुने कि प्रचण्ड हुने भन्ने समझदारी भएको छैन । प्रचण्डलाई फकाउन कांग्रेस नेता सक्रिय छन् । यति प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसमा सहमित नजुटे नेकपा एमालेका नेताहरुले उनलाई प्रधानमन्त्री दिन तयार भएको बुझिन्छ । त्यसकारण पनि कांग्रेस नेताहरु प्रचण्डलाई फकाउने क्रममा छन् ।
खुमलटार स्रोतका अनुसार पहिलो चरणमा देउवालाई प्रधानमन्त्री हुन सहयोग गर्न प्रकाशमान सिंह सक्रिय भएर लागेका छन् । सिंहले प्रचण्डलाई शुक्रबार बिहान खुमलटारमै भेटेर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका हुन् । पछिल्लो तीन वर्ष सरकारको नेतृत्व गर्नेगरी तयार हुन प्रचण्डलाई सिंहले आग्रह गरेको हो ।
अध्यक्ष प्रचण्डले भने सत्ता गठबन्धनबाट सरकार गठन हुँदा पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबेदारी प्रस्तुत गरेका छन् ।
आफूलाई भेट्न पुगेका सिंहसँगको कुराकानीमा प्रचण्डले पहिलो कार्यकालमा आफू नै प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको ‘सन्देश’सहित सिंह प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका नेता सिंहले प्रधानमन्त्रीको पहिलो कार्यकाल देउवालाई छाडिदिन आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले पहिलो कार्यकालको नेतृत्व आफूले पाउनुपर्ने र दोस्रो कार्यकालका लागि इमान्दारिताका साथ आफूले नेतृत्व हस्तान्तरण गर्ने बताएको सिंहनिकट स्रोतको भनाई छ ।
राष्ट्रपति भण्डारीले गत आइतबार १० पुस साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन् । जसपा र नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् भने बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गरिएको थियो ।
नयाँ सरकार गठनका लागि दलहरू घनिभूत छलफलमा छन् । बहुमत जुटाउनुपर्ने भएकाले सत्तारुढ गठबन्धनबाट सरकार बन्ने सम्भावना बलियो छ । तर, गठबन्धनले बनाउन नसकेमा नेकपा एमाले पनि कसरतमा देखिन्छ ।
माओवादीका एक नेताले भने यदि आलोपालो प्रधानमन्त्री हुने समझदारी भए अध्यक्ष प्रचण्ड नै पहिलो प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन् । तर, पहिलो कार्यकाल प्रधानमन्त्रीमा कांग्रेसले नछोड्ने बुझिन्छ । त्यसो हुँदा एमालेले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउन तयारी भए एमालेसँग नयाँ सरकार गठनबारे सहमति हुन सक्ने सम्भावना देखिन्छ ।
यो पनि पढ्नुहोस्