प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पुरा हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री हुने चाहना फेरि पनि पूरा नहुने दाबी गरेका छन् ।
एमाले प्युठान-काठमाडौँ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क गरेका हुन् ।
प्रधानमन्त्री हुने इच्छा प्रचण्डले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीको भनाई थियो । ‘कतिपय जो इच्छा गरिरहेका छन । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ-ढिलो गर्नु भयो । निर्णय गर्न ढिलो गर्नुभयो’, अध्यक्ष ओलीले भने- किनभने उहाँले समयमा कदम चाल्नु भएन । अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरी घुमी फिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ । जाँदैन भन्न सकिँदैन । किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला ? नेकपा एमाले मात्रै हो हैसियत छ । राष्ट्रिय स्वार्थ बाहेक दलगत स्वार्थ छैन ।’
अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्याए । उनले एमालेलाई सिध्याउँछु भन्ने तत्त्वहरू आफैँ समाप्त भएको जिकिर गरे ।
यस्तै ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको बताए । ओलीले भने, ‘अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचनको नतिजाले एमालेले गठबन्धनलाई पराजित गर्ने देखिँदैन थियो । तर हामी जनतामा एकजुट भएर गयौँ भने हामी जित्न सक्छौँ भन्ने दृष्टान्त प्युठानले प्रस्तुत गरेको छ । हामीले प्रतिगामी तत्त्वहरूलाई पराजित गर्यौ । प्रतिक्रियावादीको साँठगाँठलाई र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेका छौँ ।’
उनले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्यन्त्र भए पनि त्यो विफल भएको दाबी गरे । उनले भने, ‘अदालतले पार्टी फुटाउन भनेको थिएन । नयाँ पार्टी दर्ता गर भनेको थियो । मैले धेरैपटक कोसिस गरेँ । तर पार्टी फुटाउने उद्देश्य लिएकाहरूले नयाँ दल दर्ता गर्न मानेनन् । त्यसैले म भन्छु, अदालतले होइन, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन् ।’