बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक भइरहेको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी छ ।
बालुवाटारमा जारी बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् ।
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग-अलग र संयुक्त बैठक हुँदै आएको छ ।
एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । तर, देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।
कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेका छन् । पछिल्लो पटक कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
देउवा र प्रचण्डले गठबन्धनको बैठक अघि आज विहान छुट्टै छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच अलग्गै छलफल भएको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सत्ता गठबन्धनमा छलफल गर्नु अघि कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबीच छुट्टै छलफल भएको बताए ।