मेसी आफ्नै कहानी सुनेर भावुक !

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी आफ्नै फुटबल करियरबारे बनेको अडियो कहानी सुनेर भावुक बनेका छन् । अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि पत्रकार हेर्नान कासियरीले मेसीबारेमा तयार पारेको ‘लियोनल्स सुटकेस’ अर्जेन्टिनी रेडियोमा प्रशारण भएको थियो ।
उक्त रिपोर्टमा मेसी बार्सिलोनामा आएको बेलादेखि सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको बारेमा पनि उल्लेख थियो । म्यागाजिनमा प्रकाशनका लागि पनि तयार रहेको यो कहानी अर्जेन्टिनी रेडियो ‘पेरोस डे ला क्याले’ मा र युट्युबमा प्रशारण भएको थियो । स्पेनिस अखबार मार्काले खुलाएअनुसार यो कहानी सुनेर मेसी र उनकी पत्नी एन्टोनेला रोकुजा भावुक बनेका र रेडियोलाई ह्वाट्सएप म्यासेज पठाएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त ह्वाट्सएप म्यासेजमा मेसीले यो कहानी आफूहरुले बिहानको खाजा खाने समयमा सुनेको र यसले आफूहरुलाई भावुक बनाएको बताएका थिए ।
मेसीकै कप्तानीमा अर्जेन्टिनाले गतसाता ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको थियो । अर्जेन्टिनालाई सन् १९८६ पछि विश्वकपको उपाधि दिलाउँने क्रममा मेसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
कतारको लुसैल रंगशालामा भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । यो उपाधिसँगै अर्जेन्टिनाले आफ्नो जर्सीमा तेस्रो ‘स्टार’ थपेको थियो । अर्जेन्टिनाले सन् १९७८ मा पहिलो, १९८६ मा दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो ।