प्रचण्डको सचिवालयले भन्यो- आफू तल पर्दा सहमति गर्ने, माथि पुग्ने भान पर्दा तोडिहाल्ने !

काठमाडौं । यतिबेला राजनीतिक दल सरकार गठनका लागि बार्गेनिङ गरिरहेका छन् । गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति हुन सकेको छैन । नहुँदा नयाँ सरकार गठनका लागि दलहरु सहमतिको अन्तिम कसरतमा छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ । तर, दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन ।
यसबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले आफू तल पर्दा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने प्रवृत्ति खतरनाक रहेको जनाएको छ ।
पछिल्लो घटनाक्रमले फेरि इतिहासको दुखान्त पुनरावृत्ति अगाडि आएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । ‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ’, मल्लले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले सत्ता गठबन्धनमा भागबण्डाको विषयमा पूर्वसहमति पालनामा कांग्रेस इमानदार नभएको संकेत गरेका छन् । कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसक्ने अडान लिएको छ । माओवादी केन्द्रले पनि कांग्रेस ब्याक नभए गठबन्धनको औचित्य सकिने निष्कर्ष निकालेको छ । अहिले सत्ता गठबन्धन दल प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका छन् ।