गठबन्धनको बैठक छाडेर प्रचण्ड लागे बालकोटतिर

काठमाडौं । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् । प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट निस्किएर ओलीसँग छलफल गर्न बालकोट गएका हुन् ।
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् ।
नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको हो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् ।