बालकोटमा सहमति जुटे सरकार निर्माणमा पुग्नेछ यो गठबन्धनलाई १ सय ५६ संख्या

काठमाडौं । नयाँ सरकार वठनबारे सहमति जुट्न नसकेपछि अन्ततः सत्ता गठबन्धन टुटेको छ । नेकपा माओवादी केन्द्रले सरकार गठनबारे नेकपा एमालेसँग वार्ता गरिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरू गरेको हो ।
आइतबारको छलफलमा प्रचण्डलाई पहिलो कार्यकाल नदिने अडान देउवाले राखेपछि गठबन्धनको औचित्य नरहेको भन्दै प्रचण्ड बाहिरिएका हुन् ।
एमालेसँगको छलफलमा बालकोटमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।
अध्यक्ष प्रचण्ड, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अशोक राई बालकोटमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग छलफल गरिरहेका छन् ।
एमालेले माओवादी केन्द्रसँगको गठबन्धनमा सरकार निर्माणका लागि केही दिन यता पहल बढाउँदै आएको थियो । माओवादीले गठबन्धन तोडेर आए सरकार निर्माणका लागि छलफल गर्ने उसको तयारी थियो ।
एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपा १४ र जसपाको १२ सिट रहेको छ । बालकोटमा सहमति जुटे सरकार निर्माणमा यो गठबन्धनलाई १ सय ५६ संख्या पुग्नेछ । सरकार निर्माणमा बहुमत पुर्याउन १ सय ३८ संख्या आवश्यक छ ।