कुमारी बैंक र एनसीसी बैंक मर्जर, अब कुमारी बैंकको नामले सञ्चालन हुने

काठमाडौं । कुमारी बैंक लिमिटेड तथा एनसीसी बैंक लिमिटेड मर्जर भई अब कुमारी बैंक लिमिटेडको नामले सञ्चालन हुने भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणाज्यू तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने ज्यूले संयुक्त रुपमा समुद्घाटन गरे पश्चात् कुमारी बैंक लिमिटेडले एकीकृत वित्तीय कारोबार सुरु गरेको छ ।
कार्यक्रममा कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तन्य मार्फत नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने बताए ।
आजको आवश्यकता रहेको यस घडीमा यो मर्जर निकै सुखद र सकारात्मक कदम रहेको र कुमारी बैंक लिमिटेडले यस मर्जरपछि विभिन्न तवरबाट सेवाग्राहीहरूका लागि नवीनतम बैंकिङ्ग उत्पादनहरू प्रस्तुत गर्नुका साथै आउँदा दिनहरूमा आकर्षक सुविधाहरू पनि ल्याउने विचार व्यक्त गरे ।
मर्जर पश्चात् चुक्तापुँजी २६ अर्ब २३ करोड, कूल निक्षेप ३ खर्ब २ अर्ब र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यस पश्चात् कुमारी बैंक लिमिटेडले ४१५ वटा स्थानहरूबाट आफ्ना आधुनिक सुविधाहरू प्रदान गर्ने भएको छ । जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् ।