खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन महानगरलाई ज्ञापनपत्र

काठमाडौं । काठमाडौंमा रहेको खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै अभियन्ताहरुले काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका अभियान्ताहरुले भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै प्रदर्शनसहित महानगरमा ज्ञापनपत्र बुझाएका हुन् ।
महानगरबाट भएको उक्त निर्णयको आलोचना हुँदासमेत आधिकारिक धारणा नआउनु र डीपीआरको कामलाई निरन्तरता दिने काम भएकाले जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनुपरेको उनीहरुको भनाइ छ ।
ज्ञापनपत्र बुझाउने क्रममा अभियन्ता एवं कांग्रेस नेता भीमसेनदास प्रधानले अहिले ऐतिहासिक टुँडिखेल र त्यसभित्र रहेको खुलामञ्चलाई संरक्षण गर्नु सवैको दायित्व भएको बताए । खुलामञ्चलाई भूमिगत पार्किङको रुपमा प्रयोग गर्दा नजिकै रहेको वीर अस्पताललाई समेत असर पर्ने उनको भनाइ छ ।
अभियन्ताको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने भन्दै जनताको चाहनाविपरीत कुनै पनि निर्माण अघि बढाउन नहुने बताए ।
सन १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुलाक्षेत्र भएको टुँडिखेलको भूभाग हालसम्म आइपुग्दा १४ प्रतिशत खुम्चन पुगेको र अतिक्रमण हुने क्रम बढ्दो रहेको अभियान्ताहरुले गुनासो गरेका छन् ।