इन्टरनेट जुनसुकै बेला रोकिने सेवा प्रदायकको चेतावनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्यक्ष सुधीर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी इन्टरनेट हड्ताल गर्न पनि पछि पर्दैनौं । इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुन सक्छ । हाम्रो तालाचाबी प्राधिकरणमा बुझाउँछौं ।’
विद्युत प्राधिकरणले काठमाडौं, विराटनगर, इनरूवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटिएको आइएसपानका अध्यक्ष पराजुलीले दाबी गरे ।
इन्टरनेट सेवा प्रदायकहरुले विजुलीको पोल प्रयोग गरी आफ्नो सेवा दिँदै आएका छन् । त्यसबापत विद्युत प्राधिकरणलाई निश्चित शुल्क तिर्ने गरेका छन् । तर प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच केही वर्षयता विवाद बढ्दो छ । प्राधिकरणले पोल भाडा बढाएको छ भने इन्टरनेट सेवा प्रदायकले समयमा बक्यौता नतिरेको भन्दै लाइन काटिदिने चेतावनी दिँदै आएको छ ।