रूसले ड्रोन हमला गर्दै युक्रेनलाई सिध्याउने योजना बनाएको जेलेन्स्कीको दाबी

काठमाडौं । लामो समयसम्म रूसले ड्रोन हमलाहरू गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेनेस्कीले दाबी गरेका छन् ।
इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले युक्रेनमाथि हमला गर्न लागेको विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेको बिबीसीले जनाएको छ ।
किएभमा रात्रिकालीन सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लामो समयसम्म ड्रोन हमलाहरू गर्दै युक्रेनलाई सिध्याउने रूसी योजना रहेको उल्लेख गरेका छन् ।
युक्रेनमाथि रूसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो छ । मस्कोले पछिल्लो समय युक्रेनका विभिन्न शहर तथा ऊर्जा केन्द्रहरूमाथि हमलाहरू गर्दै आएको छ ।
जेलेन्स्कीका अनुसार युक्रेनी हवाई प्रतिरक्षा बलले सन् २०२३ का शुरूवाती दिनहरूमा इरानमा निर्मित ८० वटासम्म ड्रोनलाई खसालिसकेको छ ।
‘हामीले यो कुराको सुनिश्चित गर्नैपर्छ कि आतङ्कवादीहरूको अहिलेको लक्ष्यलाई पनि अरू लक्ष्यलाई जस्तै विफल पार्न आवश्यक सबै कदम चाल्नेछौँ,’ उनले भने, ‘अहिलेको समय भनेको हाम्रो आकाशको सुरक्षामा रहेका सबै जना अझ विशेष रूपमा त्यसमा केन्द्रित रहनुपर्ने भन्ने हो ।’
हालै डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रूसी फौजको ज्यान जानेगरी गरेको एउटा आक्रमणपछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो । अधिनस्थ डोनेत्स्क क्षेत्रमा आफूहरूले गरेको एउटा हमलामा ४०० रुसी फौज मारिएको युक्रेनले दाबी गरेको छ ।