विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउँदा नागरिकले हैरानी खेप्नु परेकोबारे ध्यानाकर्षण जनाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशबाट मोबइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन समेत दिएका छन् ।
‘प्रचण्ड’ले त्रिभुवन विमानस्थलले सरकारको निर्देशन पालना नगरेकोप्रति आपत्ति जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले पुस १५ गते विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्न निर्देशन दिएका थिए । तर, उक्त निर्देशन विमानस्थलका कर्मचारीले पालना नगरेपछि प्रधामन्त्री प्रचण्डले मंगलबार अर्थमन्त्री विष्णु पौडेल र अर्थसचिव कृष्णहरि पुस्करलाई बालुवाटार बोलाएर विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्णय तत्काल कार्यान्वयन गराउन निर्देशन दिएका हुन् ।
सोमबार अमेरिकाबाट नेपाल ल्याइएको मोबाइल सेट एयरपोर्टका कर्मचारीले जफत गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहानै अर्थमन्त्री पौडेल र अर्थसचिवलाई बोलाएर आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।
सोमबार अमेरिकाबाट फर्केका झापाका दुधलाल नेम्वाङले आफ्नो साथमा ल्याएको आइफोन एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने भन्दै लिएपछि उनले त्यही छोडेर हिँडेका थिए ।
‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ प्रधामनन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार तिर्न बाध्य पारेको भन्दै सार्वजनिक रुपमा आलोचना बढेसँगै प्रधानमन्त्रीले अयसघि पनि यस्तो निर्देशन दिएका थिए ।