प्रधानमन्त्रीले कारबाहीको चेतावनी दिएकै दिन विभागले रोक्यो राहदानी वितरण

काठमाडौं । राहदानी विभागले राहदानी (पासपोर्ट) छपाइ तथा वितरण अनिश्चितकालसम्मका लागि रोकेको छ । विभागले गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै राहदानी छपाइ र वितरण कार्य रोकेको थियो ।
विभागकी निर्देशकसमेत रहेका प्रवक्ता दुरपदा सापकोटाले विभागको सिष्टममा समस्या आएको बताएकी छन् । आज सूचना निकालेर पुस १७ गतेदेखि नै विभागको सिष्टममा समस्या आउँदा छपाइ र वितरण अवरूद्ध भएको उनले उल्लेख गरेकी हुन् ।
‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिष्टमले पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने भएकोले राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध छ,’ सूचनामा भनिएको छ । तर नियमित रूपमा राहदानी आवेदनका लागि बुक गरेकाहरूले बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि पनि विभागमा आइदिन आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मात्र पनि सचिवहरूलाई निर्देशन दिँदै राहदानीलगायतमा सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता एक महिनाभित्र हल गर्न नभए कारबाही गरिने चेतावनी दिएका छन् ।
गृह मन्त्रालयले पनि राहदानी लिन सेवाग्राहीको भिडभाड बढेपछि समस्या बुझ्न र समाधान गर्न चार सदस्यीय विज्ञ टोली अनौपचारिक रूपमा खटाएको थियो । ‘विज्ञ टोलीले अध्ययन गरिरहेको छ । यसबारे प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले भने ।
यस्तो छ सूचना