१६ मंसिर २०८०, शनिबार Saturday 2 December, 2023

सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा जाने

 मङ्लबार, पुस १९ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टीले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकले आफूहरुको सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने, नभए सरकार बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।

राजनितिक समितिमा सरकारमा जाने, नजाने विषयमा सदस्यहरुको मत बाझिए पनि बहुसंख्यक सदस्यहरु सरकारमा जानुपर्ने पक्षमा उभिएको थियो । त्यसैले सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको प्रवक्ता सुमनको भनाई छ ।

बैठकले चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ । चुनावमा पार्टीका उमेदवारविरुद्ध उमेदवारी दिनेहरुलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने राजनितिक समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया सबै