साउदीमा क्रिस्टियानो रोनाल्डोलाई भब्य स्वागत

काठमाडौं । पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबमा भब्य स्वागत गरिएको छ ।
साउदी अरबको राजधानी रियाद पुगेपछि क्लबले मंगलबार राति रोनाल्डोको स्वागतमा भब्य स्वागत समारोह आयोजना गरेको थियो । मार्सूल पार्कमा दुई घण्टासम्म चलेको स्वागत समारोहमा आतिसबाजीसहित उनलाई क्लबमा स्वागत गरियो ।
अल नासरको पहेँलो र नीलो जर्सी लगाएका रोनाल्डो रंगशालामा प्रवेश गर्दा आतिसवाजी र झकिझकाउ लाइटहरूले स्वागत गरिएको थियो ।
त्यसअघि आयोजित एक कार्यक्रममा उनले सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका छन् । यस्तै उनले प्रशंसकलाई सम्बोधनसमेत गरेका छन् ।
आफूलाई युरोप, अमेरिका, अष्ट्रेलिया र पोर्चुगलका धेरै क्लबले बोलाए पनि साउदी क्लबलाई आफूले बचन दिएकाले रियाद आएको बताए ।
‘युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलका धेरै क्लबहरूले मलाई अनुबन्धको प्रयास गरेका थिए । तर मैले यो क्लबलाई मेरो वचन दिएको भएर यता आएँ,’ रोनाल्डोले भने । उनले अल-नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको पनि बताए ।
उनले साउदी अरबको फुटबल क्लब अल-नस्रसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् । यो सम्झौतासँगै उनी सन् २०२५ सम्म अल-नस्र क्लबमा रहनेछन् ।
पत्रकार सम्मेलनमा उनले युरोपबाट खेल्दा धेरै चिज पाइसकेको भन्दै अब नयाँ चुनौतीलाई पनि सामना गर्ने बताए । उनले भने, ‘जीवनमा यति ठूलो निर्णय लिंदा मलाई गर्व छ । युरोपमा मेरो काम अब सकिएको छ । मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो ।’
आफूले आफैंलाई अनौठो खेलाडी भन्दै उनले भने, ‘म अनौठो छु, यहाँ आउँदा राम्रो भएको छ । मैले उता सबै रेकर्ड तोडेको छु अब यहाँ पनि केही रेकर्ड तोड्न चाहान्छु । म यहाँ खेल्न, जित्न र खेलको मजा लिन आएको हुँ ।’ अल-नस्रले साउदी अरब फुटबलको मात्र नभइ देशकै धारणा बदल्नेसमेत उनले बताए ।