धेरै रिसाउदाँ मानिसमा के कस्ता असरहरु पर्छ ?

काठमाडौं । कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्छ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठीक छैन भन्ने संकेत गर्छ । आफूले सोचेको जस्तो भएन भने वा अरूबाट आफूले चाहेजस्तो व्यवहार पाइएन भने कुनै पनि व्यक्तिलाई रिस उठ्छ ।
आफूमा भएको तनाव र समस्यालाई मानिसले कुनै न कुनै माध्यमबाट बाहिर निकालिरहेको हुन्छ । त्यसमध्ये एक रिस पनि हो । तर कोही व्यक्ति सानो-सानो कुरामा पनि धेरै रिसाउँछ भने स्वास्थ्यको लागि हानिकारक बन्न सकिन्छ ।
धेरै रिसाउनेलाई एन्जाइटी र डिप्रेसनको जोखिम
धेरै रिसाउने व्यक्तिलाई राम्ररी निद्रा नलाग्ने, नराम्रो सपना देख्ने जस्ता समस्या देखा पर्न सक्छन् । लामो समयसम्म रिसाउने व्यक्तिमा रक्तचाप बढ्ने समस्या समेत हुन्छ । ‘रक्तचाप बढी भएको व्यक्तिलाई धेरै रिस उठ्छ । रिसाउँदा स्ट्रेस हर्मन पनि रिलिज हुने भएकाले धेरै रिसाउने र लामो समयसम्म रिसाइरहने व्यक्तिमा पछि एन्जाइटी र डिप्रेसनको समस्या पनि हुन सक्छ ।
रिस एक स्वभाविक प्राकृतिक प्रक्रिया हो तर अभिव्यक्त गर्ने तरिका भने फरक हुन्छ । कोही झनक्क रिसाउँछन् र एकै छिनमा शान्त हुन्छन्, कोहीलाई सानोतिनो कुराले रिस उठ्दैन । कसैलाई सानो कुरामा पनि रिस उठ्छ र त्यो रिस लामो समयसम्म रहन्छ ।
रिस उठेको बेला हाम्रो शरीरमा स्ट्रेस हर्मन ‘कोर्टिसोल’ र ‘एड्रेनालाइन’को उत्पादन बढी हुन्छ । त्यो हर्मोन बढेपछि रक्तचाप बढ्ने र मुटुलाई जोखिम मात्र नभएर ब्लड सुगर पनि बढ्ने गर्छ ।